दफा ९ख
ट्रेड यूनियन संघ र ट्रेड यूनियन महासंघको काम, कर्तव्य र अधिकार
: ट्रेड यूनियन संघ र ट्रेड यूनियन महासंघको आफनो विधानमा उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त ट्रेड यूनियन संघ र ट्रेड यूनियन महासंघको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) दफा ९ को उपदफा (२) बमोजिमको ट्रेड यूनियन संघ र ट्रेड यूनियन महासंघको उद्देश्य प्राप्तिको लागि आवश्यक काम, कारबाही तथा कार्यक्रमहरुको संचालन गर्ने गराउने,
(ख) ट्रेड यूनियन संघ तथा ट्रेड यूनियन महासंघको निर्वाचनमा आफना सदस्यहरुलाई भाग लिन लगाउने,
(ग) ट्रेड यूनियन संघ र ट्रेड यूनियन महासंघको निर्णयहरु आफना सदस्यहरुलाई पालना गर्न लगाउने,
(घ) महत्वपूर्ण र राष्ट्रिय स्तरका श्रम विवाद सम्बन्धी नीतिगत विषयहरुमा सम्पूर्ण कामदारहरुको प्रतिनिधित्व गर्दै नेपाल सरकार, विभिन्न प्रकारका व्यवसायिक संघ तथा महासंघ तथा प्रतिष्ठानहरुसंग वार्ता गरी श्रम विवाद सुल्झाउन आवश्यक उपायको अवलम्बन गर्ने,
(ङ) प्रतिष्ठान स्तरको ट्रेड यूनियनको तर्फबाट सम्बन्धित प्रतिष्ठान तथा व्यवस्थापकहरुसंग वार्ता गर्ने,
(च) कामदारहरुको हित तथा कल्याणको लागि विभिन्न प्रकारका कोषको स्थापना तथा संचालन गर्ने,
(छ) कामदार तथा ट्रेड यूनियन प्रति गरिएको उत्पीडनका तथ्यहरु सार्वजनिक गराउने र त्यसको लागि सम्बन्धित प्रतिष्ठानलाई आवश्यकतानुसार सचेत गराउने।